as i see the world..................

नेपाल को सन्दर्भ मा संघियता उचित कि अनुचित

Monday 9 November 2009

इतिहासमा सच्याउन नसकीने गल्ती

राजनीतिक इतिहासमा गल्तीहरूका चाङ थापिदै गए भने मुलुकले दुःख पाउँछ। राजनीतिक नेतृत्वले विराट गल्ती गर्दा मुलुक नै भीरबाट खसेको करुण तास्विरहरू छन्, हाम्रा अगाडी।
राज्य संचालनको विधिको नेतृत्व गर्नेहरूले जनचाहना, राष्ट्रहित र त्यस अनुरुप परिमार्जन हुदै जाने समयको धड्कनलाई बुझ्न सकेनन भने इतिहासले भयावह चित्र कोर्दो रहेछ। हाम्रो देशको राजनीतिक नेतृत्वतहले अहिलेसम्म राज्य संचालनको विधितय गर्दा जनचाहनाको हेक्का राखेन, राष्ट्रहित सोचेन र समयको धडकनलाई पनि बुझ्न सकेन, नेतृत्वतहको यो भयानक लापरवाही र अदुरदर्शिताको सिकार हुँदै आएको छ, हाम्रो देश।
राष्ट्रिय स्वार्थ भन्दा व्यक्तिगत, पारिवारिक र दलीय स्वार्थका वरिपरि घुम्ने इतिहास बोकेको हाम्रो देशको राजनीतिक निष्ठा र जीवन आदर्श रहेन, व्यावसायिक वा कमाउ धन्दा बन्न पुग्यो, जसले गर्दा आज मुलुकको राजनीति सिंगो राष्ट्रलाई धरौटी थापेर मोज गर्ने तहमा पतन भएको छ। देशभक्त नेपालीका लागि यो कम्ती चिन्ताको प्रश्न होइन।
राजनीतिमा गल्तीहरू हुन्छन् तर, इतिहासको एउटा खण्डहरमा तिनलाई सच्याइन्छ तर केही गल्ती यस्ता पनि हुन्छन् जसलाई सच्याउन एउटा तपस्याको आवश्यकता पर्दछ। १९४७ मा भारत अंग्रेज साम्राज्यवादबाट मुक्त भयो तर धार्मिक नशाले समेत जरा गाड्दा माहात्मा गान्धीको भारत र अलि जिन्नाको पाकिस्तानका रुपमा अखण्ड भारत दुई टुक्रा भयो आज भारतमा भारत र पाकिस्तान मात्र होइन १९७१ मा पाकिस्तानबाट अलग भएको बंगलादेश समेतको विशाल आर्यव्रत भूमि एक हुन पर्दछ भनेर केहीले तपस्या समेत गरेका छन् तर त्यो तपस्याले इतिहासको त्यो भलखाल्डोलाई पुर्ला भनेर कल्पना समेत गर्न सकिदैन। इतिहासका कुनै गल्ती यस्ता हुन्छन् जसलाई सच्याउन सकिदैन। अब भारतले निलेको सिक्किम नयाँ राष्ट्र बनेर उभिन सानो तप र तपस्याले पुग्दैन।
आजको यस घडीमा आउँदा मुलुक र जनताको मुक्ति र सामाजिक रुपान्तरणका लागि हामीले पनि धेरै कुर्वानी गरेका छौ। कैयन राजनीतिक अदुरदर्शिताका कारणले भएका केही गल्तीहरूलाई सच्याएका पनि छौ। देशमा गणतन्त्रको स्थापना भएको छ, संक्रमणकालमा उभिएको मुलुकलाई सकारात्मक दिशामा अगाडी बढाउने अभिभारा पनि मुलुकका अगाडी छ। यो परिस्थितिमा राजनीतिक नेतृत्वको दुरदर्शीता अत्यवाश्यक बन्न गएको छ।
गणतन्त्रको सुदृढिकरण र राष्ट्रियताको रक्षाको प्रश्नलाई प्राथमिकतामा नराखिकन जनमुखि संविधान निर्माण भएर देशले सकारात्मक संक्रमणको दिशा लिन सक्दैन तसर्थ यो पक्षमा एकताबद्ध भएर अगाडी बढ्ने बेलामा सत्तामा रहेका र अन्य ठूला दलले देशलाई संघीयतामा ढाल्ने निर्णय गरेर राष्ट्रिय एकता र सद्भावमा चिरा पार्ने काम गरेका छन्। गणतन्त्रको सुदृढिकरण र राष्ट्रियताको रक्षाको प्राथमिक नाराहरूलाई संघीयताको नाराले पछाडि पारेको छ जसको परिणाम देशको कुरा होइन जात र क्षेत्रका मुद्दाहरू उठ्नुले देशको क्रंमणकालिन अवस्थालाई गलत दिशामा मोड्ने खतरा झनपछि झन गम्भीर हुदै गएको छ।
जातीय र क्षेत्रीय राज्य स्थापनाका खातिर मुलुकमा चर्किरहेको द्वन्द्वले मुलुकका अगाडि एउटा संघीयतारुपी डरलाग्दो तस्वीर खडा गरेको छ। जसले देशलाई सच्याउनै नसकिने गल्तीको उत्कर्षमा पुर्‍याउदैछ। नेपाल जस्तो भू–संवेदनशील अवस्थामा रहेको देशलाई जातीय तथा क्षेत्रीय संघहरूमा बदल्ने हो भने जाती तथा सांस्कृतिक सद्भाव कायम हुँदै आएको हाम्रो देशको ऐतिहासिक सभ्यतामात्र नष्ट हुने छैन राष्ट्र विखण्डन र विघटनको आवस्थामा पतन हुने खतरा छ। जब राष्ट्र नै छुट्टिन वा विघटन हुने अवस्था सिर्जना हुनेछ त्यति बेला जाती र क्षेत्रका त के कुरा देशकै बारेमा कसैलाई कुरा गर्ने हक हुने छैन। त्यो गम्भीरता अहिले देशमा भइरहेको यदुवंशीय युद्धले पनि संकेत गरिरहेको छ। तर राज्य यसमा पटक्कै गम्भीर छैन यदी देशलाई जातीय संघियतामा लैजाने गल्ती भयो भने हामीले पनि त्यो गल्तीलाई सच्याउन सक्ने छैनौ, खाली तपस्यामात्र गर्र्नुपर्नेछ।
तर, विडम्वना, संसदमा रहेका २४ दल संघीयताको पक्षमा नै उभिएका छन्। राष्ट्रिय जनमोर्चामात्र एउटा त्यस्तो राजनीतिक शक्ति भएको छ। जसले गणतन्त्रलाई सुदृढिकरण गरौं, राष्ट्रियताको रक्षा गरौ र संघीयताको विरोध गरौ भन्ने राष्ट्रका प्राथमिक मुद्दा उठाएर गत असोज १२ गते नेपालबन्दसम्मको कार्यक्रम सम्पन्न गरेर प्रथम चरणको आन्दोलन सकेको छ। दोस्रो चरणको आन्दोलन विभिन्न विरोध कार्यक्रमसहित अगाडी बढाउदै अगामी २०६६ वैशाख ५ देखि १५ सम्म काठमाडौं केन्द्रीत आन्दोलन गर्दैछ। सो आन्दोलनलाई सबै तह र तप्काबाट सहयोग, समर्थन र एक्यबद्धता जनाउनु नै राष्ट्रिय दायित्व र कर्तव्य हुनेछ। त्यही कार्यलाई नै इतिहासले देशभक्तिको गजले नाप्ने छ।

0 comments:

Post a Comment

 

संघियता चाहिँदैन Copyright © to scientific nepal team